हाम्रो बारेमा

पूर्वीय दर्शन विश्वकै प्राचीन दर्शन हो । यो दर्शन समस्त ज्ञान विज्ञानले भरिपूर्ण रहेको छ । विभिन्न समयमा विभिन्न विद्वान् तथा सन्तमहर्षिहरुले यस तथ्यलाई उजागर गरेका छन् । यो दर्शनका आधारभूत ग्रन्थहरु वेद, वेदाङ्ग, स्मृति, पुराण आदि मूलतः संस्कृत भाषामा रहेका छन् । अहिले संस्कृत वाङ्मयको अध्ययन अध्यापनको सर्वसुलभ व्यवस्था छैन । मानिसहरु संस्कृत भाषा जान्दैनन् । भाषा नजानेकै कारणबाट अधिकांश मानिसहरुले पूर्वीय दर्शनबाट टाढिन परेको छ । यसैकारण हाम्रो दर्शन, धर्मसंस्कार र परम्परा कर्मकाण्डमा सीमित हुन पुगेको छ । जलस्रोतको धनी देश नेपालमा १८ घण्टा लोडसेडिङ्ग भए जस्तै पूर्वीय दर्शन र परम्परामा आधारित सनातन धर्मानुरागी हामी अज्ञानतावस यस विषयमा अनभिज्ञ छौं । यो लघुताभाषले तपाई हामी सबैलाई पिरोलेको छ । आधुनिक मानिएको औषधि विज्ञानबाट आजीत भएर हिजोआज हामी टेलिभिजन अगाडि बसेर योग सिक्छौं । धेरै अत्याधुनिक अस्पतालहरु चहारेर आयुर्वेदको ओखति खान आइपुग्ने गर्छौं । योग र आयुर्वेदले आज संसार पिटेको छ । विज्ञानले बनाएका द्रूततर गतिमा चल्ने विमान लगायतका आविष्कारको स्रोत पूर्वीय ज्ञान नै हो भनेर जानकारहरुले भनेको सुन्दा छक्क लाग्छ । शस्त्रास्त्रकै कुरा गर्ने हो भने पनि हाम्रो परम्परामा शब्दभेदी अस्त्र थिए, त्यहाँ पुग्न विज्ञानलाई अझै समय चाहिन्छ । तथापि युवा पुस्ता आफ्नै परम्परामा रहेको यस्तो वैभवबाट बेखबर पश्चिमा दुनियातिर हानिदै छ । आफैभित्रको वास्ना भेट्न कस्तुरी दौडिए झै भौतारिका छौ हामी । मनमा शान्ति छैन परिवारमा शान्ति छ्रैन, समाज र देशमा शान्छि छैन । 
अतः पूर्वीय दर्शन, संस्कार र संस्कृतिलाई समयसापेक्ष रुपमा हाम्रो समाजमा पुर्नस्थापित गर्ने दूरगामी लक्ष्यका साथ श्री सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरिएको छ । यो एक गैरसरकारी संस्थाको रुपमा विधिवत दर्ता भएको छ । समाजकल्याणमा समर्पित यो विशुद्ध सामाजिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्था समेत भएकाले संस्कृत वाङ्मय तथा पूर्वीय दर्शनमा आस्था राख्ने सबैको लागि विना भेदभाव यसमा प्रवेशको लागि द्वार सधैं खुल्ला छ ।
यस केन्द्रले इलाममा गुरुकुल परम्पराको संस्कृत महाविद्यालय स्थापना गर्ने लक्ष्यका साथ प्रथम खुड्किलाको रुपमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम विधिवत स्थापना गरी नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी हाल इलाम बजारमा रहेको माईथान परिसरमा २०६५ माघ १८ देखि गुरुकुल परम्परा अनुरुप औपचारिक तथा अनौपचारिक अध्ययन अध्यापन कार्य सञ्चाल गर्दै आएको छ । हाल औपचारिक शिक्षा तर्फ कक्षा ६ र ७ मा नेपाल सरकारको स्विकृत पाठ्यक्रम अनुसार संस्कृत व्याकरण, संस्कृत भाषा, ज्योतिष, नीतिशास्त्र, नेपाली, गणित, सामाजिक अंग्रेजी, विषयहरु पठनपाठन भइरहेको छ भने प्रतिवर्ष क्रमशः कक्षा थप गर्दै लगिने छ र अनौपचारिक शिक्षा तर्फ दर्शन, ज्योतिष, कर्मकाण्ड र संस्कृत भाषा अध्ययन अध्यापन भईरहेको छ । यी अनौपचारिक कक्षाहरु जिज्ञासुहरु सबैका लागि खुल्ला छन् । केन्द्रको क्षमता र सहभागी जिज्ञासुहरुको चाहना अनुसार अरु थप विषयहरुको अध्ययन गराइने छ । 
वेद वेदाङ्ग, साहित्य, दर्शन, धर्मशास्त्र, कर्मकाण्ड, पुराण, योग, आयुर्वेद आदि विषयहरुको अध्ययन अध्यापनको माध्यमले “वसुधैव कुटुम्वकम्” मा विश्वास गर्ने राष्ट्रिय भावनाले ओतप्रोत भएका अनुशासित, कर्मठ, अध्यावसायी, आध्यात्मिक, शारीरिक तथा सामाजिक रुपले स्वस्थ, सभ्य सुसंस्कृत एवम् विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने समय सापेक्ष जनशक्ति उत्पादन गर्नु प्रस्तावित महाविद्यालयको उद्देश्य रहेको छ । अहिले  यस विद्याश्रममा औपचारिक र अनौपचरिक दुवै तर्फ विद्यार्थी अध्ययनरत छन् । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको नि.मा. तह तृतीय श्रेणीको दरवन्दिमा एक शिक्षक कार्यरत छन् भने अन्य आवश्यक विषय शिक्षकहरुको व्यवस्था निजी श्रोतबाट केन्द्रले गरेको छ । अध्ययनरत विद्यार्थीहरुको लागि निशुल्क शिक्षा तथा आवशीय सुविधा र भोजनको ५० प्रतिशत सुविधा केन्द्रले बेहोर्दै आएको छ । सबैबाट सहयोग जुटी केन्द्र सक्षम हुँदै गएमा यो सुविधामा थप वृद्धि गरिने छ । यसमा सहयोगको लागि सबै महानुभावहरु समक्ष आग्रह गरिएको छ । भविष्यमा यो संस्था सक्षम हुँदै जाँदा औपचारिक र अनौपचारिक दुवै तर्फ चार वेद सहित संस्कृत वाङ्मय अन्तरगतका सबै विषयहरु, प्रारम्भिक उल्लेख गरिने छ भने रु पाँच हजारमा आजीवन सदस्य हुन सकिने छ । 
अतः हाम्रो प्राचीन दर्शन, धर्म संस्कार र संस्कृति तथा संस्कृत वाङमयको संरक्षण र सम्वद्र्धन गर्न पहिलो पाइलाका रुपमा थालिएको यो अभियानलाई सफल बनाउन सहयोग गर्न सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्र सम्पूर्ण आस्थावान् तथा दानवीर महानुभावमा विनम्र हार्दिक अनुरोध गर्दछ ।
यस केन्द्रलाई प्रदान हुने सहयोग रासी इलाम बजार स्थित माछापुछ«े बैंक लिमिटेड इलाम शाखामा यस केन्द्रको नाममा रहेको खाता नं. ३३०१५२४०९९८९९०२७ मा जम्मा हुन सक्ने बेहोरा जानकारीको लागि अनुरोध छ । साथै यस सम्बन्धमा कुनै राय, सल्लाह र सुझाव दिन चाहनुहुने महानुभावहरुलाई पनि निसंकोच आफ्ना कुरा राखिदिनुहुन हामी सादर अनुरोध गर्दछौं । हाम्रो परम्परा नै छ –वादे वादे जायते तत्ववोध । अतः राम्रो कामका लागि हामी सबै बसौं, छलफल गरौं र सकारात्मक निर्णयमा पुगौं भन्ने हाम्रो आग्रह रहेको छ । अस्तु ।
“सर्वे भवन्तु सुखिनः”